शनिबार, बैशाख १९, २०८३

विराटनगरको ३२ घरमा पाइपलाइनबाट ग्यास वितरण शुरु

विराटनगर,५ भदौ । नमुना परियोजनाको रुपमा निर्मित नेपालको पहिलो वैकल्पिक उर्जा (वायोग्यास) पाइपलाइन मंगलबारदेखि शुरुवात भएको छ ।

विराटनगर महानगरपालिका १४ मा निर्मित पाइपलाइनबाट स्थानीयको घरघरमा वायोग्यास पुर्‍याउने परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रम स्थलमा रहेको पाइपलाइनको ग्यास चुलोको वटम खोलेर ग्यास आपूर्तिको शुरुवात गरेका हुन् । प्रधानमन्त्री ओलीले एलीपीजी ग्यास सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको बताए । पाइपबाट ग्यास घर घरमा पुर्‍याउने कुरा सम्भव रहेको भन्दै त्यसको उदाहरण विराटनगरबाट शुरुवात भएको बताए ।

यस्तै परियोजना कास्की, स्याङ्जालगायतका जिल्लामा पनि सञ्चालित रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आह्वानसमेत गरे ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै औपचारिक रुपमा मंगलबारदेखि स्थानीय ३२ घरमा पाइपलाइनमार्फत गोवरबाट उत्पादन भएको ग्यास स्थानीयको चुलोमा बल्नेछ । थप ४५ घरमा पनि चाडै पाइपलाइनमार्फत ग्यास वितरण गर्ने योजना रहेको छ ।

उर्जामन्त्री बर्षमान पुनले विराटनगरबाट शुरु भएको पाइपलाइनबाट ग्यास वितरण हुनुले मुलुक आत्मनिर्भरतर्फ अगाडि बढेको संकेत गरेको बताए ।

उनले भने ‘यस्ता किसिमका ३ सय बढी मझौला परियोजना मुलुकका विभिन्न स्थानमा सञ्चालनमा छन्, यस्ता परियोजनाले ग्यासको परनिरर्भता कमी ल्याउनेमा सहयोग हुनेछ ।

श्रीकृष्ण गौ सेवा सदनमा २०० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो ।

२०४४ सालमा स्थापना भएको सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय १५ वटा गाइको गोवरबाट ग्यास उत्पादन गरेको छ ।

विश्व बैंकको ८५ लाख रुपैयाँ आर्थिक सहयोग तथा वैकल्पिक उर्जा प्रवर्द्धन केन्ऽको समन्वयमा तयार पाइप ग्यासले पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरेको गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले जानकारी दिए ।

उपभोक्ताको घरघरमा ग्यास चुल्हो बालेर ५ दिन परीक्षण गरेपछि साउन २० गते रातिदेखि नियमित आपुर्ति गरिरहेको उनको भनाइ छ ।

सुरुमा ८४ लाख रुपैयाँमा निर्माण थालेको प्लाण्टको निर्माण लागत भने बढेर १ करोड २५ लाख पुगेको छ ।

शुरुमा लागत मूल्यको २० प्रतिशत १६ लाख रुपैयाँ गौ सेवा सदनले चन्दा संकलन गरेर बैंक खातामा जम्मा गरेको थियो । तर, पछि प्रधानमन्त्री ओलीको पाइपबाट घरघरमा ग्यास पुर्‍याउने सपना पूरा गर्ने उद्देश्यले वायोग्यास सहयोग कार्यक्रम अन्तर्गत सरकारले वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमार्फत २० प्रतिशत लागत सहभागिता ४० लाख उपलब्ध गराइदिएको छ ।

उद्घाटन कार्यक्रमअघि प्रधानमन्त्री मन्त्रीसहितको टोलीले ग्यास प्लानट, पाइपलाइन विस्तार र गौशालको अवलोकन गरेका थिए ।