Nepali date


आइतवार, मंसिर २९, २०७६

नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियू’ राखिने

काठमाडौं,२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियू राखिने भएको छ । आज(शुक्रबार) बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘ अनेरास्ववियू’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो ।

यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नाम रहेका थिए । नेतृत्वमा अझै सहमति हुन सकेको छैन । नयाँ बन्ने सङ्गठनको नेतृत्वका लागि अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली दाबेदार रहेका छन् ।

क्रान्तिकारीका अध्यक्ष तामाङले भोलिसम्म नेतृत्व टुङ्ग्याएर नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउने बताउनुभयो । केन्द्रीय कमिटीमा पनि ४९९ राख्ने सहमति भएको छ । केन्द्रीय कमिटीमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने सहमति भएको छ ।

कार्यदलले विधान र राजनीतिक तथा शैक्षिक विषयमाथि थप अध्ययन गर्ने भएको छ । विधानका लागि अनेरास्ववियुका अध्यक्ष लामा र क्रान्तिकारीका तामाङ तथा राजनीतिक र शैक्षिक विषयका लागि अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेल र किशोरविक्रम मल्ल तथा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई जिम्मा दिइएको छ ।

नेकपाको अर्को भ्रातृ सङ्गठन युवा सङ्गठनको युवा सङ्घ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल) अझै एकताको खाका टुङ्गिएको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया