शनिबार, बैशाख १९, २०८३

बिम्स्टेक सम्मेलनको काम समयमै पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित राष्ट्रिय मूल समितिको वुधवार प्रधानमन्त्री कार्यालयमा भएको दोस्रो बैठकमा आगामी भदौ १४ र १५ गते राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सन्दर्भमा भएका तयारीबारे जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

सम्मेलनस्थल पुग्ने सडकको मर्मतसम्भार,  साजसज्जा तथा सरसफाइलगायत सम्मेलन तयारीसम्बन्धी आ–आफ्नो जिम्मेवारीका काम समयमै पूरा गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले बताउनुभयो ।

बैठकमा हालसम्म भएका कामको प्रगति समीक्षा हुनका साथै बाँकी काम निर्धारित समयमा सम्पन्न गर्ने निर्णय भएको जानकारी दिँदै उहाँले राष्ट्रिय महत्वको उक्त सम्मेलन देशको प्रतिष्ठासँग गाँसिएकाले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक योगदान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको बताउनुभयो ।