शनिबार, बैशाख १९, २०८३

जनताबाट आएका गुनासोलाई सम्बोधन गरिने प्रचण्डको आश्वासन

चितवन,२७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टी गम्भीर रहेको भन्दै त्यसबारे समीक्षा भइरहेको बताएका छन् ।
भरतपुर विमानस्थलमा शनिबार प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटमा उनले जनताबाट आएका गुनासोलाई सम्बोधन गरिने आश्वासन समेत दिए । अध्यक्ष दाहालले सरकारको कामको बेलाबेलामा समीक्षा गर्दै जनआवाजलाई सम्बोधन गर्दै जानु पार्टी र सरकारको जिम्मेवारी भएको बताए ।
उनले भने, ‘चाहे करको विषयमा हो या मूल्यवृद्धि, जनताको चिन्ता हामीले सुनेका छौँ, त्यसलाई सम्बोधन गर्ने उपायको खोजी भइरहेको छ ।’ सरकार गम्भीर रहेको बताउँदै उनले पार्टी नेतृत्व पनि जनता र सांसदको गुनासो एवं चिन्ताप्रति गम्भीररूपले समीक्षा गरिरहेका छौँ ।
देश संघीयतामा गएको जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउनका लागि भएको जिकिर गर्दै उनले यसप्रति पार्टी चिन्तित रहेको बताए । करवृद्धिको विषयमा संघीयता समस्यामा पर्न गयो भन्ने कुरा आफूले कहीँ पनि नबोलेको जिकिर गर्दै अध्यक्ष दाहालले बाइसे–चौबिसे जस्तो बनाउन खोज्ने र अलोकप्रिय बनाउन खोज्ने कतैबाट प्रयास भइरहेको त छैन भनेर आफूले बोलेको स्पष्ट पारे ।
अहिलेको काम कारबाही हेर्दा व्यवसायी र जनताको पनि प्रश्न हेर्दा अब स्थानीय कर प्रादेशिक कर र केन्द्रीय कर भनेर करैकर थोपर्न थालियो भने त्यसले संघीयता कार्यान्वयन गर्न अप्ठ्यारो पर्छ भनेर आफूले बोलेको दाहालको स्पष्टोक्ति थियो ।
नेपालमा अहिले नयाँ राजनीतिक प्रयोग भएकाले पनि केही अप्ठ््यारो स्वभाविक देखिएको उनले बताए । केही पुरानो सोच र मान्यताले प्रादेशिक सरकारलाई अधिकार सम्पन्न र गतिशील बनाउनुपर्नेमा हुन नसकेको बताए ।
विप्लव नेतृत्वको नेकपाप्रति सरकार आक्रामक भएको भन्ने कुरा गलत भएको हो भन्दै अध्यक्ष प्रचण्डले सबैसँग सहकार्य र संवादबाट निकास निकाल्न चाहेको उल्लेख गरेका छन् ।