काठमाडौं,२६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न डा गोविन्द केसीसमक्ष प्रस्ताव गरेका छ ।
१५ औं अनसनपछि आफ्ना माग पूरा गर्न पहलकदमी लिएकामा धन्यवाद दिन भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका डा केसीसमक्ष प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्य क्षेत्रमा सुधारको कमाण्ड सम्हाल्न आग्रह गरेका छन् ।
‘म प्रधानमन्त्री भएका बेला तपाईं अनसन नै बस्नु पर्ने थिएन । जनताको स्वास्थ्य सेवासँग गाँसिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाउँ’ प्रधानमन्त्री ओलीले केसी समक्ष भने, ‘त्यसको कमाण्ड तपाईं सम्हाल्नु, दुर्गमका जनताको सुलभ स्वास्थ्य सेवाका लागि कसले अवरोध गर्छ डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस्, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।
प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कयौं योग्य चिकित्सक र प्रशासकहरु रहेको केसीले बताउँदै प्रम ओलीको प्रस्तावलाई घुमाउरो पारामा अस्वीकार गरेका छन् । ‘म त्यस्तो संयन्त्रमा बस्दिनँ, बाहिरै बसेर काम गर्छु, अन्य योग्य ब्यक्तिहरु धेरै हुनुहुन्छ’ केसीले प्रम ओलीलाई जवाफ दिए ।
प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र जनताको स्वास्थ्य र शिक्षाको विषयमाथि आफ्नो संकल्प र प्रतिवद्धता कमजोर नरहेको सो अवसरमा डा. केसी समक्ष बताएका छन् । प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सिमित रहनुपर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको वताए । ‘जनतालाई कसरी सुलभ स्वास्थ्य सेवा दिन सकिन्छ, कसरी सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन सकिन्छ भन्ने कुरामा तपाईंसँग भएका सम्झौताको सिमामा मत्रै बस्नुपर्छ भन्ने छैन’ प्रधानमन्त्रीले भने, ‘सरकार त्यो भन्दा फराकिलो भएर जान चाहन्छ ।

