शुक्रबार, चैत १६, २०८०

अमेरिकी प्रतिबन्धविरुद्ध उत्तरले जनायो यस्तो प्रतिक्रिया

एजेन्सी ।  उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाल स्थगित गरेको तथा आणविक परीक्षण केन्द्रहरु बन्द गरेको बताएको छ । तर, अमेरिकाले एकपक्षीय रुपमा पहिले आणविक हतियारविहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेकामा उत्तरले कडा आपत्ति जनाएको छ ।

“अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ, यो विगतमै असफल भइसकेको सिद्धान्त हो,” उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।

यही रबैया जारी रहेमा कोरियाली द्वीपमा स्थायित्व ल्याउने पछिल्ला प्रयासहरु सफल हुनेमा कुनै प्रत्याभूति छैन, प्रवक्ताले भनेका छन् । तैपनि, उत्तर कोरियाली ती अधिकारीले भनेका छन्, “विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको इमान्दारीका साथ कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध छ ।”

“ढिलै भएपनि संयुक्तराज्य अमेरिकाले हाम्रा इमान्दार प्रयासहरुलाई सही रुपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ,” मन्त्रालयले भनेको छ ।रासस/योन्हाप