काठमाडौं,२६ साउन । सरकारले कूटनीतिक वा विशेष राहदानी प्रयोगमा कडाई गर्ने गरी विधेयक तयार पारेको छ ।
राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा राहदानीको दुरुपयोग गर्नेलाई तीन वर्ष कैदसम्म कैद र पाचँ लाखसम्म जरिवाना प्रस्ताव गरिएको छ । विधेयकको दफा १६ मा नेपाल सरकारको निर्णयबमोजिम कूटनीतिक वा विशेष राहदानीप्राप्त पादाधिकारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा मात्र त्यस्तो राहदानी प्रयोग गर्नुपर्ने उल्लेख छ ।
कूटनीतिक वा विशेष राहदानी दुरुपयोग गर्ने व्यक्तिलाई कसुरअनुसार १ वर्षदेखि ३ वर्षसम्म कैद, लाखदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था दफा २२ मा छ । जुन उदेश्यका लागि राहदानी जारी गरिएको हो, त्यो बाहेक अन्य प्रयोग गरेमा यो व्यवस्था आर्कषित हुने व्यवस्था राखिएको छ ।
सरकारले दिएको आदेश वा निर्देशन पालना नगरेमा, आफ्नो राहदानी अरुलाई प्रयोग गर्न दिएमा वा अर्काको नामको राहदानी प्रयोग गरेमा समेत यो ऐन आकर्षित हुने उल्लेख छ ।
यसअघि पहिलो संविधानसभामा सांसदहरुले रातो पासपोर्ट दुरुपयोग गरेका थिए ।

