प्रदेश सरकारका मागलाई बेवास्ता नगर्न मुख्यमन्त्री गुरुङको आग्रह

पोखरा,२४ साउन । गण्डकी प्रदेशले प्रदेश सरकारको सहयोगी बन्न प्रधानमन्त्रीलाई सन्देश पठाएको छ । संघीय सरकार प्रदेशको सहयोगी नबन्दा कामकाजमा समस्या परेको गण्डकी प्रदेशको ठहर छ ।

प्रधानमन्त्रीको कार्यालयबाट प्रदेश सरकारको अहिलेको अवस्था बुझ्न आएको कर्मचारीको टोलीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारका मागलाई सुन्न र बेवास्ता नगर्न आग्रह गरे ।

प्रधानमन्त्री कार्यालयका लालशंकर घिमिरेको टोलीसँग गण्डकी सरकारका मुख्यमन्त्री, मन्त्री र सचिवसमेतको उपस्थितिमा मुख्यमन्त्रीले प्रदेशको अहिलेको अवस्थाबारे ब्रिफिङ गर्दै ध्यानाकर्षण समेत गराएका थिए ।

लामो समय बितिसक्दा पनि भवन तथा कर्मचारीको व्यवस्थापन नगरेको, प्रदेशका मागप्रति सरकारले सुनुवाइ नगरेको, कानुन पठाउन ढिलाइ भएको भन्दै मुख्यमन्त्री गुरुङले तत्काल व्यवस्थापन गर्न आग्रह गरे ।

‘प्रादेशिक सरकार सञ्चालनमा त आयो तर न आफ्नै कार्यालय छन् न पर्याप्त कर्मचारी । प्रदेश सरकारले बनाउनुपर्ने कतिपय कानुन संघीय सरकारकै ढिलाइका कारण आउन सकेका छैनन् । प्रदेशले आफ्ना आयोजनालाई कार्यान्वयन गर्न पनि अझै नेपाल सरकारकै मुख ताक्नुपर्ने अवस्था छ,’ मुख्यमन्त्री गुरुङले भने ।

उनले संघीय सरकारलाई पठाएको कतिपय पत्रको जवाफसमेत नआएको गुनासो गरे । प्रदेश सरकारले मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर गरिएका माग तथा निवेदनको नेपाल सरकारले अहिलेसम्म जवाफ दिएको छैन । मुख्यमन्त्री गुरुङले काजमै भए पनि तत्काल कर्मचारी पठाउन आग्रह गरेका थिए ।

सरकारले जवाफसमेत नपठाएर प्रदेश सरकारलाई अप्ठेरोमा पार्न खाजेको आशंका गर्दै त्यसो नगर्न प्रधानमन्त्रीको कार्यालयको टोलीमार्फत मुख्यमन्त्रीले ध्यानाकर्षण गराएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया