काठमाडौँ,२३ साउन । पर्यटन व्यवसायी कर्ण शाक्यले पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना फेवाताल अतिक्रमण गरेर बनाएको सरकारी छानविन समितिले निश्कर्ष निकालेको छ ।
सरकारी छानविन समितिको प्रतिवेदन सर्वोच्च अदालतमा पुगिसकेको छ । भवनको नक्सा पास भए/नभएको रिपोर्ट पनि आएको छ । यसमा अब ३१ साउनबाट बहस सुरु हुनेछ ।
सर्वोच्चको आदेशअनुसार प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छाननिन समितिका अनुसार होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर छन् । बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएकोे पाइएको छ ।
समितिले ०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नाप नक्सालाई आधार बनाएको थियो । यसक्रममा १५ मंसिर ०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो । त्यो योजनामा फेवातालको ६५ मिटर (२०० फिट) भित्रमा कुनै पनि संरचना बनाउन रोक लगाइएको छ ।

