काठमाडौं,२२ साउन । रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटवापत तिर्ने रकम घटेको छ । दक्षिण कोरिया जान हवाई दर २३ प्रतिशतले सस्तो भएको हो । अब कामदारले हवाई टिकट वापत ४ सय ११ अमेरिकन डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्र तिरे पुग्ने भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय बोलपत्र आह्वान गरी भाडादर घटाएको हो । यसबाट कोरिया जाने कामदारले तिर्ने रकममा वार्षिक १० करोड रुपैयाँ भन्दा बढी बचत हुने वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो ।
सरकारले सन् २००८ देखि इपीएस प्रणालीमा कामदारलाई कोरिया पठाउँदै आएको छ । हालसम्म ५४ हजार ३ सय ६३ जना कामदार कोरिया गईसकेका छन् ।

