वीरगञ्ज,१८ साउन । प्रदेश २ सरकारले वीरगञ्जमा यातायात कार्यालय सञ्चालनमा ल्याएको छ । अब यही कार्यालयले सवारी चालक अनुमतिपत्र दिनेछ ।
वीरगञ्जमा रहेको यातायात व्यवस्था कार्यालय सवारी तथा सवारी चालक अनुमति पत्रको कार्यालय प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा मातहतमा आएको हो । कार्यालयको प्रदेश नं २ का भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री जितेन्द्र सोनलले शुक्रबार विहान उद्घाटन गरेका छन् ।
कार्यक्रममा मन्त्री सोनलले भने, ‘कसैकसैले मलाई पहिलेदेखि नै भएको कार्यालय किन उद्घाटन गरेको भनेका छन् । तर, म भन्छु यो ऐतिहासिक काम हो ।
‘किनकी यातायात व्यवस्था कार्यालयका कर्मचारी पहिले नेपाल सरकारका थिए, अब प्रदेश सरकारका कर्मचारी भएका छन् । यो परिवर्तन हो,’ उनले भने, ‘यही परिवर्तनका लागि जनताले घण्टाघरमा नारा लगाएका थिए, कोइला र पेन्टले ‘मधेस सरकार’ लेखेका थिए । अब हामी मधेस सरकारको नजिक पुगेका छौं ।’
उनले निकट भविष्यमा प्रदेश २ को नामबारे प्रदेश सभाले निर्णय गर्ने समेत जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि कार्यालयबाट उठ्ने ३ सय करोड राजश्व प्रदेशको हुने र त्यसलाई प्रदेशको विकासमा प्रयोग गरिने उननले बताए । ‘प्रदेश सकारका धेरै मन्त्रालयको बजेट त्यति छैन । तर, वीरगञ्जको यातायात व्यवस्था कार्यालयबाट साढे ३ सय करोड रुपैयाँ राजश्व उठ्ने गरेको रहेछ ।

