आइतबार, बैशाख २०, २०८३

केसीसँगको वार्ता कांग्रेसले भाँड्न खोजे पनि असफल भयो : नेकपा

काठमाडौं,११ साउन । नेकपाका शीर्ष नेताहरुले डा. गोविन्द केसीसँगको वार्ता भाँड्न खोजे पनि आफूहरुले त्यसलाई रोक्न सफल भएको बताएका छन् । कांग्रेसको अन्तिम अस्त्रलाई असफल बनाएर संसदको सर्वोच्चता कायम राखेको नेताहरुको भनाइ छ ।

नेकपा संसदीय दलको शुक्रबार बिहान बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र सुवास नेम्वाङले बिफि्रङ गरेका थिए ।

सहमति हुन लागेको थाहा पाएपछि कांग्रेसका नेताहरु छटपटिएर वार्ता भाँड्न खोजेको भनेर नेताहरुले बैठकमा बिफि्रङ गरेको नेकपा सांसद झपट रावलले बताए ।

बैठकको सुरुमा नेम्वाङले डा. केसीसँगको वार्ताबारे जानकारी गराएका थिए । नेम्वाङका अनुसार डा. केसीका प्रतिनिधिहरुले सहमति गर्छौं भनेर प्रधानमन्त्री निवास बालुवाटारबाट फर्किएको १५ मिनेटमै कुरा फेरेर सहमति गर्न सक्दैनौं भनेका थिए । त्यसपछि वार्ता असफल हुने हो कि भन्ने चिन्ता बढेको थियो । बैठकमा नेम्वाङको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘हामी मिलाउनतिर लाग्यौं, कांग्रेस नेताहरुले रातभरी नसुतेर भाँड्ने प्रयास गरिरहे ।’

नेकपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि टेलिफोन गरेर वार्ता सफल बनाउने भूमिका खेलिदिन अनुरोध गरेका थिए । तर, देउवाले ‘जे गर्छौ गर, मलाई मतलव छैन’ भनेर रुखो जवाफ दिएको प्रचण्डले बैठकमा जानकारी दिएका थिए ।