बिहिबार, असार ०४, २०८३

पाकिस्तानी क्रिकेट कप्तान इमरान प्रधानमन्त्री पद सम्हाल्ने संघारमा

एजेन्सी । पाकिस्तानलाई १९९२ को विश्वकप जिताएका क्रिकेटर इमरान खानले सत्ता हात पार्ने भएका छन् ।

करीब दुई दशकसम्म क्रिकेटमा राज गरेपछि इमरान खानले सन्यास लिए र फेरि राजनीतिमा कदम राखे ।

२२ वर्ष पहिले पाकिस्तानको राजनीतिमा पनि पाइला टेकेका यी सफल क्रिकेटरलाई सुरुमा राजनेताको रुपमा त्यति समर्थन मिलेन । तर आज, उनी पाकिस्तानमा सत्ताको कमाण्ड सम्हाल्ने ऐतिहासिक मोडमा खडा भएका छन् । राजनीतिक पारीको सुरुवातामा जुन इमरान खानलाई पाकिस्तानी मिडिया र आम सर्वसाधारणले खासै महत्व दिएका थिएनन्, आज उनैलाई २० करोड जनसङ्ख्या भएको देशको महिला र युवाको एक ठूलो वर्गले समर्थन गरिरहेको छ ।

यसको पछाडिको मुख्य कारण आम रुपमा राजनीतिक र सार्वजनिक जीवनमा विवादहरु भन्दा टाढा रहनुलाई मानिएको छ । तर, २०१८ को चुनाव प्रचार प्रसारको क्रममा उनीमाथि अमर्यादित भाषा प्रयोग गरेको आरोप लागेको थियो र निर्वाचन आयोगले उनलाई यस्तो नगर्न निर्देशनसमेत दियो ।

आज इमरान खानको पहिचान क्रिकेटर भन्दा एक नेताको रुपमा रहेको छ । यो उनको राजनीतिक सक्रियताकै कारणले हो । हुन त कहिलेकाहीँ उनी क्रिकेट कमेन्टेटरमा रुपमा पनि देखिन्छन् ।

क्रिकेटबाट सन्यासपछि र राजनीतिमा जम्नु पहिले इमरान खानले विश्वभरबाट चन्दा उठाएर सन् २००८ मा आफ्नो आमा शौकत खानको नाममा एक क्यान्सर अस्पताल बनाएका थिए ।