काठमाडौ’७ साउन । चिकित्सा क्षेत्र सुधारको माग गर्दै विगत २४ दिनदेखि अनसनमा बस्नुभएका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार सकारात्मक देखिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले हिमालपारी डट कमसँग कुराकानी गर्दै सरकार वार्ताका लागि निरन्तर प्रयासमा रहेको बताए । उनले डा.केसीको मागका विषयमा सरकार सकारात्मक रहेको र चाँडै उडा. केसीको अनसन तोडिने दावी पनि गरे ।
विधेयक र अन्य दस्तावेज अपरिवर्तनीय नहुने होइन भन्दै माथेमा आयोगको प्रतिवेदन अनुसार नै विधेयक ल्याइएको स्पष्ट पारे । उनले भने,‘डा.केसीको मागका विषयमा वार्ता गर्न शिक्षा सचिव खगराज बरालको नेतृत्वामा वार्ता टोली गठन गरेर वार्ताको प्रयास निरन्तर जारी छ । तर, डा केसी पक्षीय टोलीले संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ता लिन अडान राखेर वार्तामा बस्नुको औचित्य नरहेको बताउँदै आएको छ ।’
यता, २४ दिनदेखि अनसनमा रहेका प्रा.डा.केसीको स्वास्थ्य अवस्था खस्किँदै गएपनि स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । डा.केसीको जीवन रक्षाको माग गर्दै देशभर प्रदर्शन हुँदै आएपछि सरकारले बिहीबार उनलाई जवरजस्ती उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो ।
तर, डा.केसीले कुनैपनि किसिमको स्वास्थ्य उपचार लिनबाट अस्विकार गरेपछि अहिले उनको अवस्था के छ भन्ने पत्ता लगाउन सकिएको छैन ।

