आइतबार, बैशाख २०, २०८३

गण्डकी प्रदेशका सर्वोत्कृष्ट १० किसान नगदसहित सम्मानित

पोखरा,७ साउन । गण्डकी प्रदेश सरकारले व्यवसायिक रुपमा कृषि पेसा अंगाल्दै आएका उद्यमीलाई सम्मान गरेको छ ।

आईतवार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश प्रमुख उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको जनाएको छ ।
प्रदेश प्रमुख बाबुराम कुँवरले सर्वोत्कृष्ट १० किसानलाई नगदसहित सम्मान गरे । ५० हजार रुपैयाँसहितको सर्वोत्कृष्ट पुरस्कार हेम्जा गाई फार्मका घनश्याम तिमिल्सिनाले प्राप्त गरे ।

१ सय १० वटा दुधालु गाई भैंसी पालेका उनले अर्गानिक तरकारी उत्पादनका लागि २५ टनेलमा खेती गर्दै आएका छन् । दूध र तरकारी गरी उनले वाषिर्क ५० देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

यसैगरी २ दसकदेखि स्याङ्जामा व्यावसायिक कफी खेती गर्दै आएक वोधराज अर्यालले उत्कृष्ट कृषकको पुरस्कार पाए । अर्गानिक कफी जापान निर्यात गर्दै आएका उनले कफी, सुन्तला र अन्य खेतीबाट वाषिर्क २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनीसहित उत्कृष्ट कृषक ९ जनालाई मन्त्रालयले जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा नवलपुर हुप्सेकोटका यामबहादुर रजाली मगर, म्याग्दीका भेडापालक किसान मनबहादुर पुर्जा, पोखराका पोल्ट्री व्यवसायी तेजबहादुर भट्टराई, कास्कीका क्षेत्रद्विप रेन्बो ट्राउट कास्कीका इन्द्र गौचन, नवलपुरका सुवेदी नमुना पशु विकास फार्मका दधिराम सुवेदी, तनहुँ म्याग्देका सुन्तला किसान सुकनारायण श्रेष्ठ छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले बोली र भाषणमा कृषि प्राथमिकतामा परे पनि सो अनुसार काम नभएको भन्दै दुख व्यक्त गरे ।