आइतबार, बैशाख २०, २०८३

विभिन्न कार्यक्रम गरेर बीपी जयन्ती मनाइँदै

काठमाडौ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस आज मनाइँदैछ ।
नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरेर स्मृति दिवस मनाउन लागेको छ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननेता बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।
भारतीयको स्वतन्त्रता संग्र्राममा सहभागी हुँदा बीपी त्यहाँ पनि जेल परेका थिए । भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाजस्ता भारतीय नेताहरूसँग बी.पी.को निकट सम्बन्ध थियो ।
पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर भएको ठहर गरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
उनी साहित्यको क्षेत्रमा समेत अब्बल थिए । नेपाली राजनीतिका साथै साहित्य लेखनमा क्रियाशील रहेका कोइरालाका तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदि आइन, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा उपन्यास प्रकाशित भएका छन् ।
दोषी चश्मा र श्वेतभैरवी कथा सङ्ग्रह तथा उनको देहान्तपछि आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलजस्ता कृति प्रकाशित भएका छन् ।