काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्इ चार महिना मै समृद्धि हासिल गर्न नसकिने भएकाले धैर्य गर्न आग्रह गर्नुभएको छ ।
आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले सुशासन ल्याउने प्रतिवद्धताबाट आफू विचलित नहुनेमा जोड दिँदै जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय नगरिने जानकारी गराउनुभयो ।
जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै शङ्का नगर्न पनि ओलीले आग्रह गर्नुभयो । सरकारले जनताका आकाङक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरुले सरकारका विरुद्ध अफवाह फैलाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरण नागरिकले यस्ता कुराको प्रतिवाद गर्नुपर्छ ।’
पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीलाई एयर बंगलाको विमान दुर्घटनामा मृत्यु भएका परिवारका आफन्त, पूर्व जनमुक्ति सेना, द्वन्द्व पीडित सुरक्षाकर्मीका परिवार, सामाजिक परिचालक संघ, मुस्कान सेना, जिफन्टलगायतका संघसंस्थाले माग पत्र बुझाएका छन् ।
