आइतबार, बैशाख २०, २०८३

सरकारी वार्ता टोली र केसी पक्षबीचको वार्ता निष्कर्षविहीन

काठमाडौ । आमरण अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारबीच आज भएको वार्ता पनि निष्कर्षविहीन भएको छ । केसीलाई काठमाडौँ ल्याउनुपर्ने, चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने आफ्नो अडान सरकार पक्षले दोहाराएपछि आजको वार्ता पनि निष्कर्षमा पुग्न नसकेको डाक्टर केसीका प्रतिनिधि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

सरकारी वार्ता टोलीले केसीलाई काठमाडौँमै ल्याउनुपर्ने अडान राखेपछि केसी पक्षले विरामीका रूपमा व्यवहार नगर्न भन्दै माग सम्बोधन हुनेमा विश्वस्त नभइ केसीलाई काठमाडौँ ल्याउन नसकिने अडान लिएको थियो ।

सरकारी वार्ता टोलीलाई जुम्ला नै पुगेर डाक्टर केसीसँगै वार्ता गर्न आफूहरूले सुझाव दिएको पनि भण्डारीले जानकारी दिनुभयो । केसीका प्रतिनिधि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि भेट्न गएका थिए । शिक्षामन्त्रीले केसीलाई काठमाडौं ल्याउन हेलिकोप्टर पठाउन जतिखेर पनि तयार रहेको जानकारी दिदै त्योभन्दा बढी आफूले केही गर्न नसक्ने जवाफ दिनु भएको थियो ।

यसैबीच नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

नेविसंघले जुम्लामा अनसनरन डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध कार्यक्रम गरेको हो । प्रदर्शनको क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो । माइतीघरमा नयाँ शक्तिले पनि प्रदर्शन गरेको छ । आवासीय चिकित्सकहरुले पनि आजै डा केसीको समर्थनमा मण्डलामा प्रदर्शन गरेका छन् ।