सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाका गर्भवती महिलाले प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म जाँदा एम्बुलेन्स भाडा तिर्नु नपर्ने भएको छ ।
गाउँपालिकाले हिजो पहिलो पटक एम्बुलेन्स सेवा सुरु गर्दै गाउँपालिकाका सबै गर्भवती महिलालाई प्रसूति सेवाका लागि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरसम्म लैजान एम्बुलेन्स भाडा नलिने निर्णय गरेको हो ।
प्रसूतिका लागि गर्भवती महिलालाई गाउँपालिका बाहिरका स्वास्थ्य संस्थामा लानुपरेमा पनि एम्बुलेन्स भाडा ५० प्रतिशत छुट गर्ने निर्णय भएको वडा नं. ५ का वडा अध्यक्ष तथा प्रवक्ता राजु बरालले जानकारी दिए ।
त्यस्तै, गाउँपालिकाका ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई उपचारका लागि स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स भाडा ५० प्रतिशत छुट गर्ने निर्णय भएको वडा अध्यक्ष बरालले बताउनुभयो । गाउँपालिकाले १२ लाखमा एम्बुलेन्स खरिद गरि सोमबारबाट नियमिति सेवा सुरु गरेको हो ।
जिल्लाको विकट गाउँपालिका भनेर चिनिने फिक्कल गाउँपालिकामा एम्बुलेन्स सेवा सुरु भएपछि स्थानीय खुसी भएका छन् । नेपाल सरकारबाट कर छुट गरि ल्याइएको एम्बुुलेन्स सञ्चालनका लागि गाउँपालिकाले वडा नं. ३ का वडा अध्यक्ष टेकबहादुर मगरको संयोजकत्वमा ७ सदस्यीय एम्बुलेन्स सञ्चालन समिति बनाएको छ ।

