आइतबार, बैशाख २०, २०८३

विश्वकप फुटबलको फाइनल आज, फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै

काठमाडौ । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् ।
लुजिनिकी रंगशालामा हुने दुई युरोपियन राष्ट्रबीचको प्रतिस्पर्धा नेपाली समयअनुसार राति ८ ः ४५ मा सुरु हुनेछ । आज दुवै टोली विश्वकपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिदैछन् ।
यो फाइनलले विश्व फुटबलमा नयाँ च्याम्पियन राष्ट्र जन्माउने छ । २१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ । फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ ।
यस्तै बलिया टोलीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधिको वास्तविक हकदार ठानिरहेको छ । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।
क्रोएसियाले इंग्ल्यान्डलाई हराएर फ्रान्ससंगको भेट पक्का गरेको थियो । फ्रान्सले अहिलेसम एक पटक विश्वकप जितेको छ । क्रोएसियाले भने पहिलोपटक विश्वकपको फाइनल यात्रा तय गरेको हो ।
यस्तोमा फ्रान्स दोस्रो पटक विश्वकप उपाधि जित्न चाहन्छ । क्रोएसिया भने पहिलो पटक विश्वकप जित्दै इतिहास लेख्न चाहन्छ । फाइनलमा पुगेका यि दुई टोली फ्रान्स र क्रोएसियाले निकै शानदार प्रदर्शन गरेकाले पनि आजको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
यसअघि गएरातिको खेलमा इंग्ल्यान्डलाई २ – ० ले हराउँदै बेल्जियम विश्वकपमा तेस्रो बनेको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरेका थिए।