आइतबार, बैशाख २०, २०८३

इङ्ल्याण्डलाई हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाईनलमा

मस्को । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् ।
गएराति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।
अतिरिक्त समयको दोस्रो हाफमा मारियो मान्जुकिजले क्रोएसियाका लागि निर्णायक गोल गर्नुभएको थियो । खेल सुरु भएको पाँचौ मिनेटमा केरियन ट्रिपरले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाउनु भएको थियो ।
एक गोलको अग्रता बनाएको इङल्याण्डले रक्षात्मक खेल्दा क्रोएसिया पहिलो हाफमा बराबरी गर्न असफल भएको थियो । खेलको ६८ औं मिनेटमा इभान पेर्सीले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई बराबरीमा पुराउनुभयो ।
त्यसपछि दुवै टिमले आक्रामक खेले पनि क्रोएसिया दोस्रो हाफमा हाबी भएको थियो । निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।
१०९औं मिनेटमा क्रोएसियाका लागि मारियो मान्जुकिजले गोल गरेपछि विश्वकपको उपाधी जित्ने इङ्ल्याण्डको सपना अधुरो बन्यो ।फाइनल खेल आइतबार हुने छ । त्यसअघि शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इङल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ ।