आइतबार, बैशाख २०, २०८३

कार्यविधि बनाउन संसदीय सुनुवाइ उपसमितिले छलफल थाल्यो

काठमाडौ । संसदीय सुनुवाइ समितिले आजदेखि काम सुरु गरेको छ ।
तीन दिनभित्र समितिको कार्यविधि बनाउने जिम्मा पाएको उपसमितिले कार्यविधि बनाउन छलफल गर्दैछ । हिजो तीन सदस्यीय उपसमिति गठन गरिएको हो । संघीय संसद् सचिवालयमा हिजो बसेको समितिको पहिलो बैठकले सांसदहरु योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेको उपसमिति गठन गरेको हो ।
उपसमितिले समितिको बैठक सञ्चालनको कार्यविधि लगायतका विषयमा प्रतिवेदन तयार गर्न आजदेखि आन्तरिक र विज्ञसँग छलफल गर्ने समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए । सांसदहरुसँग पनि छलफल गरिने उनले जानकारी दिए ।
शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा पेश गर्ने सदस्य पुष्पा भूसालले जानकारी दिइन् । संविधानको धारा २ सय ९२ अनुसार गठन भएको संसदीय सुनवाइ विशेष समितिले संवैधानिक अंगका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र विभिन्न मुलुकमा नियुक्त हुने राजदूतको संसदीय सुनुवाइ गर्नेछ ।
समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको पहिलो सुनुवाइ गर्नेछ । गत जेठ २९ गते बसेको संवैधानिक परिषद्को बैठकले जोशीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको थियो ।