काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेको छ ।
रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरिएको हो । मन्त्रालयमा हिजो पत्रकार सम्मेलनको आयोजना गरी तोकिएको पारिश्रमिकका विषयमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्ण विष्टले विगतका समयमा बढाइएको पारिश्रमिकको दरभन्दा यो बढी भएको बतए । अहिले तोकिएको न्युनतम पारिश्रमिकलाई अहिलेसम्मकै उच्चतम वृद्धिदरका रुपमा लिन सकिने उनको भनाइ थियो ।
कुनै पनि कम्पनीले तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम दिएमा सो कम्पनीलाई कडा कारवाही गरिने मन्त्रालयका सचिव यज्ञेश्वर दाहालले बताए। उनले श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार मन्त्रालयले प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार, ट्रेड युनियन र रोजगारदाता संगठनको प्रतिनिधित्व हुने गरी एक स्थायी ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ गठन हुने जानकारी दिए ।

