आइतबार, बैशाख २०, २०८३

तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गण्डकी बन्द

पाेखरा : तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ ।

तमुवान-मगरात संयुक्त संघर्ष समितिकाे अायाेजनामा गरिएकाे बन्दका कारण पाेखरा सुनसान बनेकाे छ ।

सडकमा सवारी साधन गुडेका छैनन् । पसलहरू पनि खुलेनन् । शैक्षिक संस्था पनि बन्द रहेका छन् । समितिले प्रदेशकाे नाम तमुवान-मगरात प्रदेश राख्नुपर्ने माग गर्दै अाएकाे थियाे ।

तर प्रदेशसभाले मतदानबाट गण्डकी प्रदेश नामाकरण गरेपछि अान्दाेलन चर्काइएकाे हाे । समितिकाे अान्दाेलनमा नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फाेरम नेपाल र देशभक्त जनतान्त्रिक माेर्चाले एेक्यवद्दता जनाएका छन् ।

माग पूरा नभए अनिश्चितकालीन प्रदेश बन्द गर्ने चेतावनी पनि समितिले दिएकाे छ । समितिकाे अान्दाेलनमा नेपाल अादिवासी जनजाति महासंघ लगायत विभिन्न सामाजिक संघसंस्थाहरूले समर्थन गरेका छन् ।