Nepali date


आइतवार, चैत्र २३, २०७६

थाइल्याण्डको एक गुफामा फसेका १२ बालक र प्रशिक्षकको अझै उद्धार भएन

बैंकक । थाइल्याण्डको एक गुफामा फसेका १२ बालक तथा उनीहरुका फुटबल प्रशिक्षकलाई उद्धार गर्न अझै सकिएको छैन ।
उनीहरुले पौडी खेल्न नजानेका कारण उद्धार गर्न नसकिएको सरकारी अधिकारीले बताएका छन् । गुफामा फसेका उनीहरुलाई गएको सोमबार ९ बेपत्ता भएको नवौँ दिनमा खोजीकर्ताले भेट्टाएका थिए । उनीहरुलाई अहिले गुफामै खाना तथा औषधिको व्यवस्था गरिएको छ । तर गुफामा बर्खाको पानी भरिएकाले उद्धार गर्न सकिएको छैन ।
उनीहरुलाई उद्धार गर्न गएका थाइ नौसेनाका एक उद्धारकर्मीको मृत्यु भएको छ । गुफामा जम्मा भएको पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ । तर निस्कन मिल्ने गरी पानी घटेको छैन । फसेका बालकले पौडी खेल्न नजानेका कारण उनीहरुलाई उद्धार गर्न पनि सकिएको छैन ।१२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गएको जुन २३ मा प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।
चिएङ्ग राईमा रहेको थामलुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेकाकारण निकस्ने बाटो बन्द हुँदा फसेका थिए । उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि उद्धारकर्मीले सम्भावित विकल्पबारे छलफल गरिरहेका छन् ।
फसेका सबै बालकको स्वास्थ्य अहिले सामान्य अवस्थामा फर्किएको बताईएको छ । अहिले उद्धारकर्मीले ती बालकहरुलाई पौडिन तथा पौडी खेल्दा सास फेर्ने तरिका सिकाइरहेका छन् ।
मौसम विभागले चिएङ्ग राई क्षेत्रमा चाँडै नै पानी पर्ने सम्भावना रहेको बताएको छ । यसको अर्थ गुफामा फेरि थप पानी पर्नेछ । पानी पर्नु अघि नै उनीहरुलाई उद्धार गर्न सकिने सम्भावना पनि देखिएको छैन ।
उद्धारकर्मीले गुफामा फसेकाहरुसम्म पुग्नका लागि १०० भन्दा बढी प्वाल पारेका छन् तर सफल भएका छैनन् । बालकहरु जमिनको सतहभन्दा ६०० मिटर तल रहेको अनुमान छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: