मस्को । विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् ।
आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार बेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो ।
उता आयोजक रुस भने समुह ए को उपविजेता बन्दै नक आउट चरणमा उक्लिएको हो । रुसले समुह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको थियो ।
आजै राति पौने १२ बजे निझ्नी नोभ्गोरोद रंगशालामा क्रोएसिया र डेनमार्क भिड्नेछन् । क्रोएसिया समुह डी को विजेता तथा डेनमार्क समुह सी को उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।
समुह चरणमा अर्जेन्टिनालाई ३–० ले हराएको क्रोएसियाले नाईजेरिया र आईसल्याण्डलाई पनि पराजित गरेको थियो ।
उता डेनमार्कले भने पेरुलाई १–० ले हराउँदा अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेलेको थियो । क्रोएसिया र डेनमार्क दुवै टोली विश्वकपको पहिलो उपाधिको खोजीमा छन् ।

