काठमाडौ । संसद सञ्चालन नियमावली पारित भैसकेपछि पनि संसदीय समिति गठनमा ढिलाई भएको छ ।
प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभामा ४ तथा २ ओटा विशेष समिति समिति रहने गरी यसअघि नै नियमावली संसदबाट पारित भैसकेको छ । संसदीय समितिमा कति सदस्य रहने भन्ने विषय पनि टुङ्गो लागिसकेको समयमा संसदीय समिति गठन भएको छैन ।
सरकार पक्षीय दलले काँग्रेसका कारण संसदीय समिति गठनमा ढिलाई भैरहेको आरोप लगाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल काँग्रेस नेताले संसदीय समितिको सभापति बन्नका लागि सबै समितिमा आफ्नो भाग खोजेका कारण समिति गठनमा ढिलाई भैरहेको आरोप लगाए ।
काँग्रेसको यही कारणले समिति गठनमा ढिलाई भएको उनको आरोप छ । तर, नेपाली काँग्रेसले भने संसदीय समितिमा आफुले प्रतिपक्षको भूमिका खोजेको र यसमा नकारात्मक टिप्पणी गर्नुको अर्थ नरहेको प्रतिक्रिया दिएको छ । हिमालपारी डट कमसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले यसमा सत्तापक्षले नै पहल गर्नुपर्ने बताए ।

