काठमाडौं,५ असार : नेकपाले विदेशमा बस्ने नेपालीहरुका लागि प्रवासी कमिटीहरु बनाउने भएको छ । प्रवास कार्यक्षेत्रलाई ७ वटामा वर्गिकरण गरिएको छ ।
जसमध्ये एसियामा नै तीनवटा प्रवास कमिटी छन् भने उत्तर र दक्षिण अमेरिकाको एउटै बनाइएको छ । एसियामा भारत प्रवास, दक्षिण पूर्व एशिया, मध्य तथा पश्चिम एशिया गरी तीनवटा छन् । त्यस्तै युरोप, उत्तर तथा दक्षिण अमेरिका,अष्ट्रेलिया र अफ्रिका महादेशमा अलग अलग कमिटी रहने भएका छन् ।
पृथ्वीका सात महादेशमध्ये एशियामा तीन र अरु महादेशमा एक एकवटा कार्यक्षेत्र नियमावलीले तोकेको छ । प्रवासी नेपाली संघ वा मञ्चका पदाधिकारी रसदस्यहरुको पार्टीको मर्यादाक्रम पनि नियमावलीमा व्यवस्था गरिएको छ ।
प्रवासी नेपाली संघ भारतको केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रदेश कमिटी सदस्य सरह कायम गरिएको छ । त्यस्तै भारतका विभिन्न राज्य समितिका पदाधिकारी र सदस्यहरुको मर्यादा जिल्ला कमिटी सदस्यसरह हुनेछ ।
भारतबाहेक अन्य प्रवास कमिटीका पदाधिकारी र सदस्यहरुको मर्यादाक्रम जिल्ला कमिटी सदस्य सरह प्रस्ताव गरिएको छ । यसअघि नेपालमा रहँदा जिल्ला कमिटीभन्दा माथिल्लो तहका काम गरिसकेकाहरुले भने यो प्रावधान हटाएर प्रदेश कमिटी सदस्य सरहको मर्यादाक्रम तोक्न सुझाव दिएका छन् ।
भारत प्रवास र अन्य प्रवास कमिटीका पदाधिकारी तथा सदस्यहरुमाथि विभेद गर्ने ढंगले नियमावली आएको भन्दै सच्याउन लबिङ भइरहेको छ ।

