अमेरिका,२ असार । गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
संघले जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण गर्न लागेको हो ।
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ।
संघका प्रवक्ता भूषण घिमिरेले सान फ्रान्सिस्को सम्मेलनको तयारी पूरा भएको भन्दै मंगलबार बिज्ञप्ति जारी गरेका छन्। ‘विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउन गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा २ दिने विज्ञ सम्मेलन आयोजना गर्ने घोषणा हामीले यसअघि नै गरेको सर्वविदितै छ,’ उनले भने, ‘सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको जानकारी गराउन चाहन्छौँ ।
‘गैरआवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृध्दिका लागि प्रयोगमा ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसै कुरालाई मनन गरी गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्ने निर्णय गरेको हो ।’ बिज्ञप्तिमा उल्लेख छ ।
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ ।
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा। बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा।हेमराज शर्मा,आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।

