शनिबार, बैशाख ०८, २०८१

विप्लव नेतृत्वको नेकपा माओवादीद्वरा ९९ रोपनी जग्गा कब्जा

रामेछाप,२९ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मातहतमा रहेको जिल्ला जनपरिषद रामेछापले जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ खैरेनी राकाथुममा रहेको विभिन्न व्यक्तिको ९९ सय रोपनी जग्गा आइतबार रातिबाट कब्जा गरेको छ ।

बिक्रम सम्बत् २०३८/०३९ सालमा हालको दोरम्बा गाउँपालिका वडा नं २ का चण्डिलाल तामाङ, खाडादेवी गाउँपालिका वडा नं २ का तेज बहादुर तामाङ सेहि स्थानका रोज बहादुर तामाङ , खाडादेवी गाउँपालिका वडा नं १ का मान बहादुर तामाङ सोहि ठाउँका सिंह बहादुर लामा , गणेश बहादुर तामाङले घुस खुवाएर जग्गा आफनो नाममा गरेको भन्दै माओवादी कार्यकर्ताहरुले सो जग्गा कब्जा गरेका हुन् ।
उनीहरुको नाममा रहेको जग्गा आईतबार रातिबाट कब्जामा लिएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रामेछापले सार्वजनिक अपिल जारी गरि जनाएको छ । तत्कालीन अवस्था नापि विभागलाई घुस खुवाएर नक्सा पास गरेको , सो जग्गा दिन्छु भन्दै सर्वसाधारण जनतासंग रकम असुलेको र अहिलेसम्म जग्गा पनि नदिएको माओवादीको आरोप छ । स्थानीयबाट लिएका रकम अहिलेसम्म फिर्ता नगरेको र जग्गा धनीहरु जनविरोधी क्रियाकलापमा संलग्न भएकाले सो जग्गा कब्जामा लिएको सो पार्टीले जनाएको छ ।

कब्जामा लिएको जग्गा कोहि कसैले हस्तक्षेप गरे जिल्ला जनपरिषद रामेछाप जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत सो पार्टीले दिएको छ ।