पोखरा,२८ जेठ । प्रदेशसभा ४ मा नेपाली कांग्रेसको अवरोधका बीच आइतबार सरकारले मार्सल लगाएर बजेटसँग सम्बन्धित दुई विधेयक पेश गरेपछि सोमबार भने संसद चल्न दिने सहमतिपछि बैठक सुरु भएको छ ।
कार्यव्यवस्था परामर्श समितिमा प्रतिपक्षी दल कांग्रेसले आफ्नो कुरा राख्ने र सत्ता पक्षले त्यसको जवाफ दिने गरी संसद सञ्चालन गर्ने सहमति भएको थियो । असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता भएको भन्दै सरकारले आइतबार कांग्रेसको अवरोधबीच मार्सल लगाएरै दुई विधेयक संसदमा पेश गरेको थियो ।
कांग्रेसले भने प्रदेशको नामसम्बन्धी विषयमा छलफल गर्न माग गर्दै संसद अवरोध गरेको थियो ।
सोमबारको संसदमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रको आत्मा र संसदीय व्यवस्थाको अभिन्न अंग प्रतिपक्षलाई सम्मान गर्ने कुरामा सत्तापक्षले विश्वास दिलाउनुपर्ने बताए । प्रदेशको नामको विषय उठाउँदा सत्तापक्षले गरेको व्यवहार लोकतान्त्रिक नभएको उनले दावी गरे ।
‘नेपालमै एउटै सदस्य रहेको पार्टीले पनि संसद अवरुद्ध गरेको इतिहास छ । ४ नम्बर प्रदेशमा भने त्यो अभ्यासलाई लत्याउने काम गरियो,’ नेपालीले भने, ‘प्रतिपक्षको सम्मान हुने कुराको ग्यारेन्टी गरे मिलेर अगाडि बढ्छौं । जिम्मेवार प्रतिपक्षको हैसियले प्रदेशको उन्नतिका लागि सधैं सहयोगी रहने छौं ।’
संसदमा कांग्रेसको जवाफ दिँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नकारात्मक कुराको सिको नगर्न प्रतिपक्ष दललाई आग्रह गरे । ‘संसदमा राम्रा, नराम्रा धेरै अभ्यास भएका छन् । संसदमा हुलदंगा गर्नेदेखि सभामुखलाई जुत्ताले पनि हानिएको थियो तर त्यो नकारात्मक कुरा थियो । भर्त्सनायोग्य कुरा थियो,’ मुख्यमन्त्री गुरुङले आग्रह गरे, ‘त्यस्ता कुराबाट पाठ सिकौं, अनुशरण नगरौं ।
नीति तथा कार्यक्रममा छलफल गर्ने, बजेट ल्याउने, त्यससँग सम्बन्धित विधेयक ल्याउनेजस्ता महत्वपूर्ण कुरामा अवरोध नगर्न मुख्यमन्त्री गुरुङले प्रतिपक्ष दललाई आग्रह गरे । असार १ गते बजेट ल्याउनैपर्ने स्थिति र बजेटसँग जोडिएका विधेयकहरु पेश नगरी नहुने अवस्थामा महत्वपूर्ण के हो भन्ने बुझ्नुपर्ने उनको भनाइ थियो ।
