काठमाडौं,२८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच वार्ता हुँदैछ । मंगलबार हुने वार्ताका लागि दुवै नेताहरु सिंगापुरमा पुगिसकेका छन् ।
सिंगापुरका प्रधानमन्त्री ली शियन लुंगका अनुसार विश्वका यी दुई शक्ति राष्ट्रका प्रमुखको ऐतिहासिक वार्तामा २० मिलियन सिंगापुर डलर खर्च हुनेछ । यो भनेको नेपाली रुपैयाँ १ अर्ब ६० करोड हो ।
यो रकमको आधा त सुरक्षा प्रवन्धमा मात्रै खर्च हुने छ । वार्ता स्थलको सुरक्षा जिम्मा गोर्खा प्रहरीलाई दिइएको छ ।
प्रधानमन्त्री लीले भनेका छन्– एक अन्तर्राष्ट्रिय पहलको लागि यो खर्च जायज छ र यसमा सिंगापुरको पनि हित छ ।
मंगलबार सिंगापुरको सेन्टोसास्थित होटेल क्याम्पेलामा ट्रम्प र किम जोंगबीच भेटवार्ता हुने छ । किम जोंग चाइना एयरलाइन्सको जहाज चढेर सिंगापुर पुगेका थिए । प्रधानमन्त्री ली शियेन लुंगसँग कुराकानी गरेपछि किम जोंगले भने, ‘यदि शिखर सम्मेलनमा कुनै सम्झौता भएमा इतिहासमा सिंगापुरको सम्झना रहिरहने छ ।’
अमेरिका र उत्तर कोरियाबीचको वार्ता परमाणु हतियारको विषयमा केन्द्रित हुनेछ । किम जोंग उनले परमाणु हतियार त्याग्ने प्रतिवद्धता जनाउने अमेरिकाको विश्वास छ ।
यस वार्ताको लागि सिंगापुरलाई मंगोलिया, स्वीडेन, स्वीजरल्याण्ड र दुवै कोरियाली देशको बीचमा पर्ने असैन्यकृत इलाकाको रुपमा लिइएको छ ।
सिंगापुरका विदेशमन्त्री विवियन बालकृष्णनले भनेका छन्, ‘हामी निष्पक्ष, विश्वासयोग्य र सुरक्षित छौं, त्यसैले हामीलाई चुनिएको हो । मलाई लाग्छ सिंगापुरका जनताले यस वार्तामा गर्व गर्नेछन् ।

