विराटनगर,२७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघ र प्रदेश सरकारबीच कुनै द्वन्द्व नरहेको बताएका छन् ।
शनिबार प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्ति र समूहले संघ र र प्रदेश सरकारबीच स्रोत साधान प्रत्यायोजनलाई लिएर द्वन्द्व रहेको भ्रम फैलाएको आरोप लगाए । उनले भने, ‘प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारको अंग हुन्, संघीय सरकारका अंगसँग कसरी द्वन्द्व हुन्छ ?’
प्रदेश सरकारलाई श्रोत साधान सम्पन्न बनाउन संघीय सरकार लाग्ने भन्दै उनले विकासे योजना बनाएर ल्याउन प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।
‘तपाईहरु बजेट अभावका कारण योजनाहरु नरोक्नुस् । आवश्यक योजना बनाएर संघीय सरकारमा पठाउनुस्’ उनले भने, ‘यदि संघीय सरकार सँग पनि बजेट अभाव भए विदेशबाट ऋण लिएर भएपनि तपाईहरुको योजना सफल बनाउन सहयोग गर्छौं । तर बजेटको अभावमा कुनैपनि विकासको काम रोकिन हुन्न ।’
प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुख्य लक्ष्य लोकतन्त्रको रक्षा गदै जनतालाई वास्तविक लोकतन्त्रको अनुभुति गराउने रहेको बताए ।
उनले जनताले बोल्न पाउने तर, खाना नपाउने अवस्था वास्तविक लोकतन्त्र नभएको बताए । उनले भने ‘यो जनताको सेवा गर्न बनेको सरकार हो शासन गर्न होइन । कोहीपनि जनता अब भोकै मर्न पदैन किनकी यहा जनताको सरकार छ ।’
केहीले अधिनायकवाद आउँछ भन्ने गरेको भन्दै उनले व्यवहारमा हेर्न आग्रह गरे । ‘जनताको शासन भएको यो सरकारको दायार फराकिलो हुनुपर्छ, सबै जनताले खाना पाउनु पर्छ बोल्नु पाउनु पर्छ । अबको अबस्था त्यही हुनेछ, त्यतै हुनेछ’ प्रधानमन्त्री ओलीले भने ।
जनताको बलबाट संविधान बनेको र त्यही संविधानबाट तीन तहको सरकार बनिसकेको भन्दै प्रधानमन्त्री ओलीले अब क्रान्तिका कुरा गर्नु देशद्रोही हुने बताए ।

