पोखरा,२६ जेठ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कम्युनिष्टले चाहेमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र फोरम नेपाल मिल्दा दुई तिहाई पुग्ने भन्दै उनले कम्युनिष्टले चाहे संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिने बताए ।
शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले भने, ‘कम्युनिष्टको पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो, हामीले चाहेको पनि त्यहि हो । कम्युनिस्टले चाहेमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ, त्यसका लागि हामी तयार छौं ।
यद्यपि नेपालका कम्युनिस्टहरु साइनबोर्ड झुण्ड्याउने तर, कम्युनिष्ट चरित्र नदेखाउने गरेको भन्दै उनले यसै भन्न नसकिने उनले बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुँदा लोकतन्त्र झन् बलियो हुने भन्दै उनले भने, ‘यसले लोकतन्त्रलाई धरापमा पार्दैन, गणतन्त्र झन् बलियो हुन्छ ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले कम्युनिष्टसँग एकता गर्ने कुरा हल्ला मात्र भएको बताए । पार्टी एकता गर्नका लागि कम्युनिस्ट शब्द छाड्नुपर्ने उनको भनाइ थियो ।

