शनिबार, बैशाख ०८, २०८१

३७ दिनभित्र महाधिवेशन गर्न राजपालाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं,२५ जेठ । राष्ट्रिय जनता पार्टीलाई  निर्वाचन आयोगले ३७ दिनभित्र महाधिवेशन गर्न  निर्देशन दिएको छ । आयोगले बिहीबार पत्र नै काटेर ३० असारभित्र महाधिवेशन गर्न निर्देशनात्मक आदेश दिएको हो ।

अध्यक्ष मण्डलको बैठक सकिए लगतै आएको आयोगको पत्रले राजपामा खैलाबैला मच्चिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अध्यक्ष मण्डलका सदस्यहरुलाई बोलाएर छलफल गरेपनि यसबारे कुनै निर्णय भएको छैन ।

६ दल मिलेर ७ वैशाख २०७४ मा राष्ट्रिय जनता पार्टी गठन भएको थियो ।

दल दर्ताका क्रममा बुझाइएको विधानको धारा २२ को उपधारा १० मा नै एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो । निर्वाचन आयोगले त्यही दफालाई टेकेर ३० असारभित्र महाधिवेशन गर्न निर्देशन दिएको हो ।

स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी -ने क पा) दर्ताका क्रममा महिला ३३ प्रतिशतलाई लिएर बहस भएको थियो । नेकपाका नेताहरुले राजपालाई दल दर्ताका क्रममा छुट दिएको भन्दै आफूहरुले पनि त्यो सुविधा पाउनु पर्ने माग गरे । आयोगले नेकपा दर्ताका क्रममा ३ महिनाभित्र राजनीतिक दलसम्वन्धी ऐन अनुसार सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन निर्देशन दिएको छ ,लगतै आयोगले राजपालाई पूर्वप्रतिवद्धता अनुसार महाधिवेशन गर्न पनि ताकेता परेको हो ।

राजपामा राजेन्द्र महतो र शरतसिंह भण्डारी लगायतले महाधिवेशनको माग गर्दै आएका थिए । तर, सहमति जुटेको थिएन । अब ३७ दिनभित्र महाधिवेशन कसरी गर्ने भन्ने समस्यामा परेको छ ।

हरेक ५ वर्षमा दलले महाधिवेशन गर्नु पर्ने व्यवस्था छ । यसमा बढीमा ६ महिना म्याद थप्न सकिने व्यवस्था छ । अब राजपाले यसका लागि पहल गर्न सक्छ ।

तर, दल दर्ताका क्रममा नै एक वर्षभित्र गर्ने प्रतिवद्धता जनाएकाले आयोगले ६ महिना थप समय दिने नदिने अन्यौल रहेको राजपाका एक नेताले बताए ।