काठमाडौं,१९ जेठ । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले बसको सिण्डिकेट तोडे जस्तो निर्माण व्यवसायमा हात नहाल्न सरकारलाई चेतावनी दिएका छन् । संसद बैठकमा बजेट माथिको छलफलकै क्रममा सांसद लामाले निर्माण व्यवसायीलाई कारबाही गर्ने विषयमा जवाफ मागे।
गृह मन्त्रलायले देशभरका ठेक्का लिएर समयमा निर्माण सम्पन्न नगर्नेहरुको सूची माग गरेको छ।
‘म निर्माण व्यवसायी हुँ’, लामा कन्सट्रक्सनका सञ्चालकसमेत रहेका लामाले बैठकमा भने, ‘बनको समस्या छ। पोल सारेको छैन। गिट्टी बालुवाको समस्या छ। भुक्तानी पाँइदैन। म्याद थप हुँदैन। अनि एउटा व्यवसायीलाई छेक्छु र थुन्छु भन्दा १२/१३ हजार व्यवसायीले भोली आन्दोलन गर्यो भने के हुन्छ।’
‘यो ट्रक व्यवसाय र बस व्यवसाय जस्तो होइन। सिण्डिकेट तोडे जस्तो होइन। म सरकारलाई भन्न चाहान्छु’, लामाले चेतावनी दिदैँ भने, ‘व्यवसायी दोषी छैन भन्न चाहान्नँ। यो व्यवसाय धरासय भए देशको उन्नती हुदैँन। लेखेर राख्नुस्।’
उनले निर्माण समयमा सम्पन्न नभएकोले निष्पक्ष छानविनको माग गरे। उनले व्यवसायीलाई कारवाही गरेर कसरी ठूला राजमार्ग बनाउने भनेर प्रश्न गरे। ‘विदेशी ल्याएर बनाउने। स्वेदशी सिध्याउने विदेशी ब्यूँताउने नीति हो’, लामाले सोधे, ‘काम गर्नुस् नाफा कमाउनुस्। कर लगाउनुस्। पारदर्शी कर लगाउनुस्। हामी तिर्छौँ।’
उनले ‘रुग्ण उद्योगलाई सुविधा दिने निर्माण व्यवसायीलाइ किन नदिने’ भन्दै प्रश्न गरे।

