काठमाडौं,१७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ । आज बिहीबार निर्वाचन आयोगमा निवेदन दिइने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
अन्डरलाइन हटाएर कोष्ठभित्र नेकपा राखिने नेम्वाङले बताएका छन् । संसदीय दलका उपनेता नेम्वाङले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नामसहित दर्ताको लागि निवेदन दिइने बताए ।
यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको थियो । ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता भएकाले ‘नेपाल कम्युनिस्ट पार्टी’मा ‘अन्डरलाइन’ राखेर आयोगमा निवेदन दिइएको थियो । त्यसको विरोध कट्टेलले गर्दै आएका थिए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको नाम पनि नेकपा छ । यद्यपि यो निर्वाचन आयोगमा भने दर्ता छैन ।
एमाले र नेकपा माओवादी केन्द्रबीच ३ जेठमा पार्टी एकीकरण भएको र नयाँ पार्टीको नाम नेकपा राखिएको औपचारिक घोषणा गरिएको थियो ।
३ जेठमै नवगठित नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । यस्तै १४ जेठमा आफ्ना केन्द्रीय सदस्यहरुको नागरिकता प्रमाणपत्रसहित आवश्यक कागजात बुझाइएको थियो । तर, निर्वाचन आयोगले भने अझै निर्णय लिइसकेको छैन ।
निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्ने बताए ।

