शुक्रबार, बैशाख ०७, २०८१

सुन तस्करी प्रकरण : गोरेलाई जेल चलान

काठमाडौं,१४ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जेल चलान गरिएको छ ।

न्यायाधिश नारायणप्रसाद शर्माको इजलासले उनलाई जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलार्इ बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत, मोरङले जनाएकाे छ ।

गोरेलाई अदालतमा पेश भएको सबुत प्रमाणका आधारमा संगठित अपराध निवारण ऐन, २०७० र मुलुक ऐनमा भएको व्यवस्थाको आधारमा कारागार कार्यालय, मोरङ पठाइएको जिल्ला अदालत, मोरङका निमित्त श्रेस्तेदार केदारप्रसा गौतमले बताए ।

उनी गत ८ जेठमा काठमाडाैंबाट पक्राउ परेका थिए । यसअघि बयान दिँदै गोरेले उर्लाबारीका सनम शाक्यको हत्या आफूले नगरेको दाबी गरेका थिए ।  जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले आफूले सामान्य केरकार गर्न मात्रै भनेको दाबी गरेका हुन् ।

‘त्यस दिन मैले सनमलाई आराम गराउन भनेको थिएँ । तर, गाडीभित्र टेकराज मल्लले करेन्ट लगाई चरम यातना दिएछन्’, गोरेले बयानमा भनेका छन्  ।

  एक किलो सुन पास गराउँदा ५० हजार

गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । ‘श्याम खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार निज आफैंले बुझ्थे’ गोरेले अदालतलाई दिएको बयानमा भनिएको छ, ‘यो लाइनबाट ४०० किलोदेखि ५०० किलोसम्म सुन आएको छ ।’

गोरेको बयानलाई आधार मान्ने हो भने खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो ।

खत्री अहिले फरार छन् । छानविन समितिले बयानका लागि बोलाए पनि अनुपस्थित भई फरार भए ।

उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड नोटिस जारी गर्ने तयारी छ । उनी तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए तर, पछि उनलाई अदालतले सफाइ दिएको थियो ।