काठमाडौं,१३ जेठ । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् ।
गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।
अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले आज सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औँ स्थानमा परेका हुन् । अब उनीहरु डलर अर्बपतिको नजिक पुगेका छन् ।
घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो । एक वर्षमै उनीहरुको सम्पत्ति झण्डै ३५ प्रतिशतले बढेको छ ।
अष्ट्रेलियाकाे मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापकसमेत रहेका घलेको शिक्षा तथा रियल स्टेटलगायतका उद्योगमा लगानी छ ।
सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अष्ट्रेलियाका पुगेका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरे । अहिले एमआइटीमा झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । घले उक्त इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत हुन् भने जमुना प्रबन्ध निर्देशक हुन् ।

