काठमाडौं,१२ जेठ । गैरआवासीय नेपाली संघले सरकारसँग गैर आवासिय नेपालीहरुलाई नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
अध्यक्ष भवन भट्टको नेतृत्वको पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मण्डलले संघीय मामिला तथा सामान्य प्रशासानमन्त्री लालबाबु पण्डितसँग भेटवार्ता गरी यस्तो माग गरेको हो ।
भेटवार्तामा मन्त्री पण्डित संविधान अनुसार कानुन बनाएर गैर आवासीय नेपालीहरुलाई विशेष नागरिकता प्रदान गर्न तयार रहेको बताएका छन् । सो भेटवार्ताको अवसरमा संघका अध्यक्ष लगायत पदाधिकारीहरुले लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयको पदभार सम्हालेकामा बधाई तथा शुभकामना समेत व्यक्त गरेको एनआरएनले जनाएको छ ।
भेटवार्तामा सहभागी एक सदस्यका अनुसार विदेशमा बस्ने नेपालीप्रति कडा रुपमा प्रस्तुत हुदै आएका मन्त्री लालबावु पण्डित यस पटक भने नरम देखिएका र छिट्टै नागरिकता सम्बन्धी कानुन बन्नेमा आशा गरेर एनआरएनको टोली फर्केको छ ।
सो भेटवार्तामा मन्त्री पण्डितले आफू गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी गराउने पक्षमा रहेको रहे तर दुइ वा दुइ भन्दा बढि मुलुकको मतदाता हुन नहुने धारणामा सरकार स्पष्ट रहेको बताएका थिए । उनले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीहरुको नागरिकताको व्यवस्थामा आफ्नो पूर्ण समर्थन रहेको र कानुन निर्माण गरी लागु गर्नेमा भूमिका खेल्ने बताएका छन् ।
संघका उपाध्यक्ष कूल आचार्यले विदेशमा बस्ने नेपालीहरुलाई सम्मानका साथ नागरिता वितरण गर्न आग्रह गरेका थिए । आचार्यले एनआरएनले विदेशमा आर्जन गरेका सीप र ज्ञानलाई नेपालमा सदुपयोग गर्नको लागि नेपाल सरकारसँग पहल गर्नुपर्ने बैठकमा राखेका थिए ।
त्यस्तै, संघका सहकोषाध्यक्ष सोम सापकोटाले विभिन्न मुलुकमा वैदेशिक रोजगार तथा अन्य पेशा तथा रोजगारीमा रहेका नेपालीहरुको सीप श्रोत र साधनको प्रयोग तथा सदुपयोग गरी नेपालको समृद्धिमा उनीहरुलाई सहभागीता गराउन आग्रह गरेका थिए ।

