आइतबार, बैशाख २०, २०८३

सरकारको सय दिन सामान्य गति,दर्जन विसंगति : कांग्रेस

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसले सरकारको सय दिनमा सामान्य गति र एक दर्जन विसंगति देखिएको बताएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियोमार्फत सरकारको १२ वटा विसंगति प्रस्तुत गरेका छन् ।

कांग्रेसले पहिल्याएको १२ विसंगतिमा प्रधानमन्त्रीले देश, जनता र भगवानको नाममा सपथ नखानु, सरकारको मनोवैज्ञानिक दबाबमा राष्ट्रपतिले कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेको राष्ट्रियसभा सदस्यको मनोनयन अस्वीकार गर्नु, संघीयतालाई बलियो बनाउनुका साथै राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण जस्ता निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राखिनुलाई लिएको छ ।

त्यस्तै संविधान संशोधनलाई बार्गेनिङ चिप्सको रुपमा मात्र प्रयोग गर्नु, स्वेतपत्रमा नकारात्मक सूचकमात्र देखाएर ढुकुटी रित्तो छ भन्नु, न्यायालयलाई नेतृत्वविहीन राख्नु, प्रदेश सरकारलाई बलियो बनाउन ऐन कानुन, बजेट विनियोजन नगर्नु, राष्ट्रवादको नारा दिए पनि नरेन्द्र मोदीको नेपाल भ्रमणमा देखाएको चरित्रलाई पनि कांग्रेसले विसंगति भनेको छ ।

कर्मचारीको मनोबल गिराउनु, कांग्रेस पार्टीलाई प्रतिपक्ष नै होइन भन्नु, अत्यावश्यक सामानको मूल्यवृद्धि हुनु र नीति तथा कार्यक्रममा एक वर्षे कार्यक्रमहरु नआउनुलाई पनि कांग्रेस प्रवक्ता शर्माले विसंगति भनेका छन् ।