आइतबार, बैशाख २०, २०८३

ओली र प्रचण्डको पदभारसंगै नेकपाको मुख्यालय खोजी सुरु

काठमाडौं,५ जेठ । एमाले र माओवादीबीच एकीकरण भई पुनर्गठन भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय ९मुख्यालय) खोजी सुरु भएको छ ।

विघटित एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई मुख्यालय बनाउन संभव नहुने निष्कर्षसहित दुवै अध्यक्षले एकताको भोलिपल्टै मुख्यालयको खोजी सुरु गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेको भोलिपल्ट शुक्रबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले धुम्बाराही र पेरिसडाँडास्थित दुवै कार्यालयको संयुक्त रूपमा अनुगमन तथा निरीक्षण गरे । एकसाथ विघटित एमालेको मुख्यालय रहेको धुम्बाराहीस्थित कार्यालय पुगेका अध्यक्षद्वय ओली र दाहालले त्यहाँ रहेका सबै कक्षको अवलोकन गरे । तत्कालका लागि धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसम्पर्क तथा जनसंगठनको काम गर्ने तय भएपछि दुवै अध्यक्ष पहिला धुम्बाराही पुगेका हुन् ।

विघटित एमाले नेताहरूका लागि बनाइएको कार्यकक्षदेखि बैठक हल र विभाग प्रमुखहरूका लागि तय गरिएको कक्षसमेत अवलोकन गरी अध्यक्ष रहने कार्यकक्षमा बसे । जहाँ सुरु भयो, स्थायी केन्द्रीय कार्यालयको बहस । नेकपाका महासचिव विष्णु पौडेलले कार्यालयको विषयमा केही जानकारी गराएलगत्तै प्रधानमन्त्रीसमेत रहका अध्यक्ष ओलीले भूकम्पले केन्द्रीय कार्यालय बल्खुबाट काम गर्न संभव नभएपछि अस्थायी रूपमा सरिएको जानकारी दिए ।

‘भूकम्पले बल्खुबाट कार्यालय सञ्चालन संभव भएन, केही समयका लागि भनेर यता सरेको, संविधान निर्माण, संविधान कार्यान्वयन, चुनाव र पार्टी एकताले यतातिर ध्यान दिनै सकिएन, अब सबै काम भयो, नीति कार्यक्रम र बजेट आएपछि केन्द्रीय कार्यालय व्यवस्थापन गर्नुपर्छ,’ ओलीले भने । ओलीको जानकारीलगत्तै अध्यक्ष दाहालले स्थायी केन्द्रीय कार्यालय मदननगर बल्खुमै उपयुक्त हुने प्रस्ताव राखे ।

‘पार्टी केन्द्रीय कार्यालय बल्खु नै उपयुक्त हुन्छ, त्यहीँ बनाउनु पर्छ,’ दाहालले ओलीतिर हेर्दै प्रस्ताव गरे । उनको प्रस्तावलाई ओलीले मन्दमुस्कानका साथ ‘त्यही हो मेरो पनि रोजाई, यो त अस्थायी कार्यालय मात्रै हो’ भन्ने जवाफ फर्काए । दुवै अध्यक्षको रोजाई बल्खु नै परेपछि वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमले ठाउँ अलिक बढाउनुपर्ने बताए ।

‘हाम्रो त बल्खु रोजाइमै पर्छ, तपाईंले नै त्यहीँ छान्नुभयो,’ वरिष्ठ नेता नेपालले भने । सबै नेताले बल्खुलाई केन्द्रीय कार्यालय बनाउने सहमति जनाए । जननेता मदन भण्डारीको नाममा मदननगर नामाकरण गरिएको बल्खुमा आठ रोपनी जग्गा रहेको छ । सो जग्गा अपुग हुने भएकोले वरपरका केही जग्गा थप गर्ने योजना रहेको छ । भूकम्पपछि तीन वर्षका लागि एमालेले धुम्बाराहीस्थित पर्वतारोहण प्रतिष्ठानको घर भाडामा लिएको हो ।

दुई अध्यक्षसहित नेताहरू पार्टी मुख्यालयको बहस गरिरहँदा वरिष्ठ नेता नेपालले पार्टीलाई आफूले जग्गा दिए पनि धन्यवादसमेत नपाएको गुनासो सुनाए । लगत्तै अध्यक्ष ओलीले भने, तपाईंलाई विशेष धन्यवाद ।’ प्रचण्डले पनि जवाफ फर्काए, सुन्नु भो नि, जग्गा दिएकोमा धन्यवाद पाउन पार्टी एकता हुनुपर्ने रहेछ, हिजो एकता भयो, आज धन्यवाद पाउनुभयो, तपाईंलाई हामी दुवै अध्यक्षको तर्फबाट धन्यवाद ।

ओली र दाहालले यसो भनिरहँदा बरिष्ठ नेता नेपाल मेरो कान आज धन्य भयो भन्दै हसिमजाक गरिरहेका थिए । नेपालले पार्टीलाई दिएको कलंकीको जग्गा बेचेर बल्खुमै साँढे दुई रोपनी जग्गा थप गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी गठनपछि पहिलोपटक नेताहरू पार्टी कार्यालय निरीक्षणमा गएका थिए ।

दुवै अध्यक्षसँगै वरिष्ठ नेता नेपाल, सचिवालय सदस्य बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल निरीक्षणमा गएका हुन् । परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली पनि कार्यालय निरीक्षणमा गएका थिए । धुम्बाराहीमा महासचिव पौडेल र नेता कृष्णगोपाल श्रेष्ठले स्वागत गरेका थिए । लगत्तै दुवै नेतासहितका सचिवालय सदस्यहरू पेरिसडाँडा पुगेर कार्यालय निरीक्षण गरे ।

पेरिसडाँडा जाने हतारोमा अध्यक्ष ओलीले चियासमेत उतै गएर पिउने भन्दै दाहालसहित हिँडेका थिए । विघटित एमालेका नेताहरूले अध्यक्षसहित सचिवालयका नेताहरूलाई चियापानको व्यवस्था गरे पनि ओलीले ‘यता होइन, पेरिसडाँडामै चिया पिउने’ भन्दै त्यसतर्फ लागेका थिए ।