शुक्रबार, बैशाख ०७, २०८१

एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत,चुनाव चिन्ह सूर्य

काठमाडौं,२ जेठ । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको वार्तामा एकतामा सहमति जुटेको हो ।

बिहीबार नै एकता घोषणा हुनेछ । बिहीबार नै निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति पनि भएको छ ।
एमाले स्थायी कमिटी र माओवादी सचिवालयको विस्तारित बैठकले पार्टी एकता सहमति अनुमोदन गरेको छ । एमालेले बिहीबार केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ ।

भोलि मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रितको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । मदन आश्रित स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरु पनि सहभागी हुनेछन् । लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जनाएको छ । पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुबै दलका नेताहरुले बताएका छन् ।
एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन् भने बाँकी २०० जना माओवादी केन्द्रबाट आउनेछन् । कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो ।

पोलिटब्यूरो तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुका अनुसार स्थायी कमिटीमा एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना ।

एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेलिनवाद हुने छ । राजनीतिक कार्यदिशा ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्र’ छ । एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको २१ औं शताब्दीको बहुदलीय जनवादलगायतका वैचारिक मान्यताहरुबाट छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको छ ।