सोमबार, मङि्सर २३, २०८२

पूर्वाधार विशेष कार्यक्रम खारेज गर्ने संकेत,सांसदलाई १० करोड नदिइने

काठमाडौं,१ जेठ । आफ्नै पार्टीका प्रभावशाली सांसदहरुको तीब्र दबाब रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम खारेज गर्ने संकेत दिएका छन् ।

सत्तारुढ एमाले, माओवादी र विपक्षी कांग्रेसका सांसदले समेत पूर्वाधार विशेष कार्यक्रमको बजेट १० करोड बनाउन दबाब दिइरहेका बेला सरकार भने कार्यक्रम नै खारेज गर्ने तयारी गरेको छ ।

संसदमा प्रि बजेट छलफल भइरहेका बेला अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी बजेटमा निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रममा बजेट विनियोजन नगर्ने संकेत गरेका छन् ।

संघीय संसदको क्यान्टिनमा भेटिएका अर्थमन्त्री खतिवडाले सांसदहरुले निर्वाचन क्षेत्र विकासमा १० करोड मागे पनि नदिने संकेत गरे । उनले भने ‘यो राजनीतिक विषय हो । माननीयज्यूहरुको चासोका सन्दर्भमा राजनीतिक तहबाटै छलफल भएर टुंगो लाग्छ । यसबारेमा प्रधानमन्त्रीज्यूकै तहबाट कुराकानी होला । अहिले म यसबारेमा कुनै प्रतिक्रिया दिन चाहन्न ।’

एमाले सांसदहरुले भने अर्थमन्त्री खतिवडाले नै प्रधानमन्त्रीलाई समेत कन्भिन्स गरेको आरोप लगाएका छन् । ‘१० करोड होइन, अहिले दिइएको ३ करोड पनि रोक्नुपर्छ भनेर कार्यक्रम खारेज गर्न अर्थमन्त्रीले नै प्रधानमन्त्रीलाई प्रभावित पारेको पाइयो’ एमालेका एक सांसदले अनलाइनखबरसँग भने ।

एमाले सांसदहरुले संसदीय दलको बैठकदेखि व्यक्तिगत र सामुहिक भेटघाटहरुमा पनि प्रधानमन्त्रीलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम जनताबीच जाने राम्रो माध्यम भएको भन्दै बजेटमा व्यवस्था गर्न दबाब दिइरहेका छन् । उनीहरुले खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईको संयोजकत्वमा दबाब समूह नै खडा गरेका छन्, जुन समूहमा सबै पार्टीका सांसद छन् ।

सरकारले भने आगामी बजेटमा सांसदहरुको माग बमोजिम निर्वाचन क्षेत्र विकास कोषमा १० करोड छुट्याउने होइन, यो आर्थिक वर्षमा कार्यन्वयनमा गइसकेको ३ करोड रुपैयासमेत रोक्ने संकेत गरेको छ ।