प्यूठान,३० वैशाख । प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आइतबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खोला नजिकै दुर्घटना हो ।
जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानकारी दिएको छ मृतकमध्ये बस चालक कैलाली चौमालाका वीरबहादुर थारुको मात्रै सनाखत हुन सकेको छ ।
दुघर्टनाका २५ घाइतेमध्ये १६ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ भने ९ जनालाई बुटवललगायतका अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीहरुले खोज तथा उद्धार कार्यमा सक्रिय रहेको बताए ।

