काठमाडौं,२३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् ।
आइतबार संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पारे ।
ओलीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त भएको बलियो सरकार हो । कसैले सोचेको थिएन सिण्डिकेट तोडिन्छ भनेर । तर यो सरकारले सिण्डिकेट तोडेर छाड्यो । अरु क्षेत्रमा पनि सिण्डिकेट छ, त्यो पनि तोडिन्छ ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नेता बलियो हुँदा कोही डराउन नपर्ने भन्दै जनताको समर्थनमा मात्र नेता बलियो हुने बताए । कतिपयले आफू बलियो प्रधानमन्त्री भएकोमा रिस गरेको भन्दै ओलीले लोकतन्त्रमा व्यक्ति होइन प्रणाली बलियो बनाउने आफ्नो मिसन सुनाए ।
कांग्रेस नेता डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकारलाई कांग्रेसले फू गरेर ढाल्ने चेतावनी दिएको प्रसंग समेत कोट्याए । उनले यो लुलो सरकार होइन भन्ने हेक्का राख्न समेत आग्रह गरे । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मनमोहन अधिकारी नेतृत्वको एमाले नेतृत्वको सरकारलाई फू गरेर ढाल्ने चेतावनी दिएका थिए ।
ओलीले भने-उहिले एकजना अंकलले कुनै सन्दर्भमा यो सरकारलाई फू गरेर ढाल्छु भनेका थिए । उनका भतिजाले त्यही शब्द प्रयोग गरेर यो सरकार ढाल्छु भनेछन् ।
प्रधानमन्त्री ओलीले आफू प्रतिपक्षप्रति अशहिष्णु नबन्ने समेत प्रष्ट पारे । अब ५ वर्षसम्म अर्को चुनाव पनि नहुने र स्थिर सरकार भएकाले विपक्षलाई प्रहार गर्ने वा असहिष्णु बन्नुपर्ने आवश्यकता नरहेको उनले बताए । उनले विपक्षलाई पनि विरोधका नाममा बिरोध नगर्न सुझाव दिए ।

