सोमबार, मङि्सर २३, २०८२

विदा कटौती : पुनरावलोकन गर्ने प्रचण्डको आश्वासन

काठमाडौं,२० वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कटौति भएका सार्वजनिक बिदा पुनरावलोकनको पहल गर्ने बताएका छन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन् ।

आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले समुदायसँग छलफल नगरी विदा कटौती गर्दा समस्या आएको भन्दै पुनरावलोकनको पहल गर्ने बताएका छन् ।

गत चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । विदा पुनरावलोकनको पहल गरिदिन आग्रह गर्दै आदिवासी जनजाति नेताहरु बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले सरकारले हटाएका सांस्कृतिक पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका थिए । जवाफमा प्रचण्डले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको बिषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने बताएका थिए ।

प्रचण्डले भने, ‘अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको बिषय होइन । बिदाको पक्षमा तपाईंहरुलाई मेरो सहयोग हुन्छ । अध्यक्षले प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताएका छन् ।

आदिवासी जनजातिका अगुवाहरुले आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निस्क्रिय बनाएको, गुम्वा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामांकनमा पहिचान छुटाएको लगायतका गुनासा गरेका थिए ।

उनीहरुले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धी भएको भन्दै सरकारले कुनै सल्लाहबिना नै बिदा कटौति गरेको बताए ।