काठमाडौं,१४ वैशाख । उत्तर कोरियाका नेता किम जोङ्ग उन दक्षिण कोरियाको राष्ट्रपति मुन जे इनसँग कुराकानी गर्न दक्षिण कोरिया पुगेका छन् ।
सन् १९५३ मा कोरियाली युद्धपछि उत्तर कोरियाको नेताले दक्षिण कोरियामा पाइला टेकेको यो पहिलो पटक हो । युद्धपछि कोरिया उत्तर र दक्षिण कोरियाको रुपमा विभाजित भएको थियो ।
वार्ता सुरु गर्नुभन्दा पहिले उत्तर र दक्षिण कोरियाका नेताले दुवै देशको सीमा क्षेत्रमा भेटेका थिए । उनीहरुले एकअर्कासँग हात मिलाएका थिए । एएफपीका अनुसार मुनले किमसँग ‘तपाईंलाई भेट्न पाउँदा म खुसी छु,’ भनेका थिए । अब उनीहरुबीचको शिखर वार्ता असैन्य क्षेत्रमा हुने बीबीसीले जनाएको छ ।
यो ऐतिहासिक भेटवार्ताप्रति विश्वको चासो उत्तर कोरियामा छ । उत्तर कोरियाले हालै परमाणु हतियार कार्यक्रम रोक्ने संकेत दिएको थियो ।
वार्ताको क्रममा उत्तर कोरियाका नेता किम जोङ्ग उनले शान्ति होस् भन्नेहरुको आशा पूरा गर्नका लागि आजै एक सम्झौता हुने विश्वास व्यक्त गरेको रोयटर्सले जनाएको छ ।
गैरसैनिक क्षेत्रमा जारी वार्ताबाट दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणालगायतका विषयमा ऐतिहासिक निर्णय हुने अपेक्षा गरिएको छ ।

