सोमबार, मङि्सर २३, २०८२

सुन काण्ड बयानका क्रममा शौचालय गएका डिएसपी फरार

काठमाडौं,१२ वैशाख । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानमा छानबिन समितिले एसपी र डिएसपीसँग मंगलबार सोधपुछ गरेको छ ।
एसपी विकासराज खनाल र डिएसपी संजय राउतसँग समितिले सोधुपुछ गरेको हो ।

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेतीसँग निकटतम सम्बन्ध देखिएपछि उनीहरुसँग बयान लिएको स्रोत बताउँछ । एसपी खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा राउत इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्जका रुपमा कार्यरत छन् ।
त्यस्तै सईद्वय बालकृष्ण सञ्जेल र गजेन्द्र रावलसँग पनि छानबिन समितिले सोधपुछ गरेको छ ।
बयानकै क्रममा शौचालय गएर आउँछु भनेर डिहेका डिएसपी राउत सम्पर्कविहिन भएका छन् । मंगलबार दिउँसो उनी बयानका लागि मन्त्रालयका गएका थिए । बयानका क्रममा आत्तिएका उनी आफुलाई पक्राउ पूर्जी दिइनसक्ने डरले सम्पर्कविहिन भएको हुनसक्ने आशंका गरिएको छ ।

आइतबार बयानपछि पूर्वडिआईजी गोविन्द निरौलालाई हिरासतमा लगिएको थियो । उनीविरुद्ध कर्तव्य ज्यान तथा सुन तस्करी मुद्दामा म्याद थप भइसकेको छ ।

गत फागुन १८ मा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र सो घटनाको अनुसन्धानमा भएको चलखेलको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
सोही समितिले घटनाको विस्तृत छानबिन गर्दा विगत ५ वर्षदेखि सेटिङमा विमानस्थलबाट सुन तस्करी भइरहेको र तस्करहरुलार्इृ उच्च पदस्थ प्रहरीहरुकै साथ रहेको खुलेको हो । घटनामा संलग्न २२ जना पक्राउ परिसकेका छन् ।

जसमा ८ जना थाई एयरलाइन्स तथा ४ जना नेपाल एयरलाइन्सका कर्मचारीहरु छन् । तस्करीको ३३ किलो सुन हराएपछि सो सुन लुटेको आशंकामा पूर्व कर्मचारी शाक्यलाई अपहरण गरी उनीहरुले करेन्ट लगाएर वास्तविकता बकाउन खोज्दा उनको मृत्यु भएको थियो । सो घटना लुकाउन उप्रेतीले अपराध महाशाखाका प्रहरीलाई प्रयोग गरेका थिए ।