काठमाडौं,११ वैशाख । लगानी बोर्डले देशमा नै सिसा उद्योग स्थापना गर्नका लागि संभाव्यता अध्ययन गर्न लागेको छ । उद्योग स्थापनाका लागि बिस्तृत संभाव्यता अध्ययन गर्न अहिले परामर्शदाता कम्पनी छनौट गर्न लागिएको छ ।
आगामी बोर्ड बैठकमा लगानी बोर्डले परामर्शदाता कम्पनी छनौट गर्नका लागि कार्यादेश र एक्सप्रेसन अफ इन्ट्रेस्ट पेश गर्न लागेको छ । बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेका अनुसार यो पास भएसँगै बोर्डलाई परामर्शदाता कम्पनी छनौट गर्ने बाटो खुल्ने छ ।
यस अघिका प्रारम्भीक अध्ययनहरुबाट बाग्मतीको बालुवामा नै सिसाका कणहरु रहेको देखिएको वाग्ले बताउँछन् । उनले भने ‘ देशमै सिसा उद्योग खोल्ने उद्देश्य सहित हामीले संभाव्यता अध्ययनको काम अघि बढाउन लागेका छौं , बोर्डले अनुमति दिने बित्तिकै यसका लागि कम्पनी छनौट गरिनेछ ।
बाग्मती बाहेक अन्य नदिमा समेत उक्त कम्पनीले संभाव्यता अध्ययन गर्नेछ । देशका विभिन्न नदि र भुभागमा अध्ययन गरि सिसा उद्योग के कति संभव छ भनेर उक्त कम्पनीले अध्ययन गर्नेछ ।

